मिनी नेपाल के हो ?

बालबालिका, युवा विद्यार्थी, शिक्षक, विद्यालयको सिकाइ अभिव्यक्ति तथा प्रतिभाहरूको प्रकाशन, प्रदर्शन, मूल्याङ्कन र साझा गर्ने देखि स्थानीय सिकाइको प्रवर्धन गर्नका लागि बालबालिका, युवा विद्यार्थीशिक्षक, विद्यालयसरोकार निकाय, अभिभावक सबैको सिकाइ अभिव्यक्ति गर्न मिल्ने एक शैक्षिक मञ्च हो । 

मिनी नेपालले नेपालका मौलिक र विविधतायुक्त विवरणलाई सङ्कलन, विश्लेषण गरी ज्ञानको निर्माण गर्ने र तिनीहरूको संरक्षण प्रवर्धन गरी सिकाई, आयआर्जन र पुस्तान्तरसँग जोड्दै लैजान नेपालका समग्र जानकारीको अध्ययन, अभिव्यक्ति, अन्तर्क्रिया, भण्डारण, प्रयोग र पुर्न: प्रयोगका लागि अवसर र प्रोत्साहन दुवै गर्छ । 

यसलाई मिनी नेपाल किन भनिएको हो?

नेपालभरिका साना साना बालबालिका तथा युवा विद्यार्थीहरूका आफ्नोपनको अभिव्यक्तिलाई डिजिटल संसारसँग जोड्ने प्रयास, भावी पुस्ता प्रतिको गहिरो सम्मान, आशा र भरोसा सहित उनीहरूको अग्रसरताबाट निर्माण भएको बहुलता, विविधतायुक्त नेपालको समग्र रूप हो भन्ने बुझाइबाट यसलाई मिनी नेपाल भनिएको हो । 

साथै ती सिकाइ अभिव्यक्तिहरू पनि स्थान अनुसार (प्रशासनिक विभाजन अनुसार) कुनै पनि स्थानमा के छ, के थियो र के हुनसक्ला भन्ने आधारभुत मापदण्डमा आधारित भई नेपाल जस्तै विविधता, बहुलता र बहुपक्षिय विशेषतायुक्त जानकारीहरू सबैले सबैका लागि सिक्न र सिकाउन उपयोग गर्न सकोस्, यसलाई ‘हेर्ने नेपाल’ वा ‘पढ्ने नेपाल’ दृष्टिकोणबाट उपयाेग गर्न सकियाेस् र यसले ’‘नेपालको मिनी चर स्वरूप’ प्रतिनिधित्व गरोस् भन्ने भावबाट यसलाई मिनी नेपाल भनिएको हो । 

मिनी नेपालको औचित्य के छ ?

बालबालिका तथा युवा विद्यार्थीहरूलाई यस डिजिटल प्रविधिको युगबाट अलग राख्न सकिन्न भन्ने सत्य साबित भइसकेको छ । बरु उनीहरूको रुचि, क्षमता, आकर्षणलाई सिकाइमा रूपान्तरण गर्न भने अवश्य सकिन्छ । डिजिटल प्रविधिबाट विद्यार्थीहरूलाई नियमित विद्यालय सिकाइ सहित जीवन उपयोगी ज्ञान, सीप, अभ्याससँग जोड्न, विद्यालय, शिक्षक, विद्यार्थीहरू डिजिटल प्रविधिको उच्चतम उपयोग गरी वास्तविक सिकाइ (जीवन उपयोगी, व्यवहारिक) अवसर प्रदान गर्न उनीहरू केन्द्रित एक सुरक्षित डिजिटल मञ्चको आवश्यकता छ । 

विद्यालय, शिक्षक, विद्यार्थीहरू खोज (सोच, गर र भन) मा आधारित सिकाइ मार्फत उच्चतम उपयोग गर्न उनीहरूका वा तपाईँ हाम्रा वरपर रहेका, छरिएर बसेका, वास्ता नगरिएका, खोज नगरिएका यस्ता धेरै विषयवस्तु जानकारी छन् जुन नेपाल र नेपालीको पहिचान पनि हो, ती विषय बस्तुहरू हराउँदै छन्, नासिँदै छन्, विस्थापित हुँदै छन् त्यस्ता विविधता, बहुलतालाई सङ्कलन, विश्लेषण, अध्ययन गरी विविधता र बहुलता समाजको एक विशाल सूचना तथा जनकारीको भण्डार निर्माण गर्न सकिन्छ ।

यस सूचनाको युगले (ज्ञानको युग पनि भनिन्छ ) ल्याएको प्राेजुमर कल्चर (उत्पादक र उपभोक्ता दुवै एक हुनु पर्ने जीवनशैली) समाहित हुन अवसर दिनै पर्ने दबाब हाम्रा बालबालिका, युवा विद्यार्थी, शिक्षक र विद्यालय छन् । यसका साथै व्यवहारिक ज्ञान र जीवन उपयाेगी शिक्षा दिनै पर्ने दबाका बिच जनस्तरका ज्ञानलाई किताबी ज्ञान र किताबी ज्ञानलाई जनस्तरका ज्ञान सम्म जोड्न सक्षम बनाउन यी र यस्ता स्थानीय र मौलिक ज्ञानहरू एक सरल, सहज, व्यावहारिक र दीर्घकालिन हुनसक्छ । 

साथै नेपाल सरकारले विद्यालय शिक्षा भित्र स्थानीय सिकाइ प्रवर्धनका लागि स्थानीय सरकारको नेतृत्वमा पाठ्यक्रम निर्माण र शैक्षिक क्रियाकलापहरूको गतिविधि गर्ने गरी नीति नियम तर्जुमा र यसको कार्यान्वयन गरिरहेको छ । मिनी नेपालले स्थानीय सिकाइको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय समुदाय, अभिभावक, युवा, विषय विज्ञ, विद्यालय, शिक्षक, विद्यार्थी लगायत समाजमा रहेका सबै तह तप्कालाई एकीकृत रूपमा सहयोग र योगदानको अवसर प्रदान गर्दछ ।  

डिजिटल सिकाइ अभ्यासले विपद् तथा जोखिमको बेलामा हुने शैक्षिक क्षति हुन नदिनको लागि पूर्व तयारीको काममा पनि सहयोग गर्छ । 

नेपाल बाहिरका मानिसहरू (बालबालिका वा युवा) यसको पहुँच र उपयोग कसरी गर्न पाउँछन् ?

मिनी नेपालको पहुँच र उपयोग सबै प्रयोगकर्ताले निःशुल्क प्राप्त गर्न सक्नुहुन्छ । नेपाल बाहिर रहनु भएका युवा विद्यार्थी तथा बालबालिकाले मिनी नेपालको साधारण प्रयोगकर्ताको रूपमा सहभागिता जनाउन सक्नुहुन्छ । 

मिनी नेपालमा बालबालिका तथा युवा विद्यार्थीहरू कसरी जोडिन् सक्छन् ?

बालबालिका तथा युवा विद्यार्थीहरू मिनी नेपालमा सिधै साइन अप गरी जोडिन सक्नुहुन्छ । यसको अलावा बालबालिका अध्ययन गरेको विद्यालयमा मिनी नेपाल जोडिएको छ भने विद्यालयबाट सिधै र सजिलैसँग जोडिन सक्नुहुन्छ । विद्यालयको पेज मेन्युमा सहभागीमा गई विवरण भरी सहभागी हुन सक्नुहुन्छ ।

के विद्यालयले मिनी नेपालको उपयोग गर्न सक्छ ?

मिनी नेपालले विशेष गरी नेपालको विद्यालय तह (पूर्व प्राथमिक विद्यालय देखि उच्च माध्यमिक तह) सम्म नियमित शैक्षिक क्रियाकलापहरू एकीकृत गरी परियोजनामा आधारित सिकाइ गतिविधि र आन्तरिक मूल्याङ्कन सम्मको विषय बस्तुलाई समेटेर तयार गरेको हुनाले यो विद्यालय केन्द्रित छ । नेपालका सबै प्रकारका विद्यालयहरूले यसको उपयोग र प्रयोग गर्न सक्नुहुन्छ । सहभागिताको लागि साइन अप गर्नुहोस् । 

के बालबालिका बाहेक अरू सहभागी हुन पाउँछन्?

मिनी नेपालमा सबै जनाले सहभागी हुन सक्नुहुन्छ । भावी पुस्ताको सिकाइमा केन्द्रित रहेर अभिभावकको रूपमा सबैले मिनी नेपालमा सहभागी हुन पाउने व्यवस्था छ । मिनी नेपालले सबै जनालाई सहभागिताको लागि प्रोत्साहन गर्दछ । 

म/हामीले मिनी नेपाललाई कसरी योगदान गर्न सक्छु/सक्छौ ? 

तपाईँले मिनी नेपालमा एक पाठक, लेखक, सम्पादक, सङ्कलक, अनुदानकर्ता तथा शुभेच्छुक भएर सहभागी वा योगदान गर्न सक्नुहुन्छ । एक पाठकको रूपमा अध्ययन गर्न, सूचना खोज्न, प्राप्त गर्न सक्नुहुन्छ । एक अनुदानकर्ताको रूपमा तपाईँले आफूसँग भएको विषय सामग्री, प्राविधिक सामग्रीआर्थिक अनुदान गर्न सक्नुहुन्छ । थप जानकारीका लागि अनुदान हेर्नुहोस् । त्यसबाहेक अन्य सेवा प्राप्त गर्नका लागि तपाईँले सदस्य बनी सहयोग र सहभागी हुन सक्नुहुन्छ । थप जानकारीका लागि प्रयोगका सर्त हेर्नुहोस् ।

मिनी नेपालमा विषय सामग्रीहरू के नेपाली भाषामा मात्रै राखिएका हुन्? 

मिनी नेपाल भित्र रहेका सामग्रीहरू (विषय प्रसङ्ग, स्थानिक, आञ्जलिकता, मौलिकता) कायम गर्नका लागि नेपाली भाषामा नै राखिएको हुन । सँगसँगै प्राविधिक पक्षको सबलीकरण र उन्नतिसँगै हामीले नेपालमा रहेका मातृभाषाहरूमा लेखिएका वा निर्माण भएका विषय बस्तुहरूलाई प्राथमिकताका साथ राख्ने योजना बनाएका छौ । यी भाषाहरूबाट सरल र सहज रूपमा सङ्कलन, लेखन, अभिलेख राख्न सक्ने भएपछि मात्र हामी अन्तर्राष्ट्रिय भाषाहरूमा क्रमशः रूपान्तरण गर्दै लैजाने योजनामा छौ ।

अङ्ग्रेजी वा अन्य भाषामा विषय सामग्रीहरू राख्न मिल्छ कि मिल्दैन?

मिनी नेपाल भित्र विषय सामग्री राख्दा नेपाली भाषामा लेख्नुपर्ने हुन्छ । मुख्य सामग्री बाहेक सन्दर्भ सामग्रीको सुचीको रूपमा मातृभाषा र अङ्ग्रेजी भाषामा लेखिएका लेख रचनाहरू राख्न भने मिल्छ । अर्थात् मिनी नेपाल भित्र थप सामग्री वा सन्दर्भ सामग्रीको रूपमा अङ्ग्रेजी वा अन्य भाषामा विषय सामग्रीहरू राख्ने व्यवस्था गरिएको छ । थप जानकारीका लागि पोस्ट मा हेर्नुहोस् ।