टुकी बत्ती

टुकी बत्ती

म अनिता तामाङ कक्षा ९ मा पढ्छु । मैले सामाजिक विषय अन्तर्गत परम्परागत सिप र प्रविधि भन्ने पाठ अध्ययन गर्ने क्रममा टुक्की बत्तीको परियोजना निर्माण गरेको छु । 

टुकी बत्ती एक परम्परागत प्रविधि हो । पहिले पहिले बत्ती नहुँदा यस प्रविधिको प्रयोग गरिन्थ्यो । बिजुली बत्ती आउनु भन्दा पहिले यो प्रविधि नेपाली जनजीवनको महत्त्वपूर्ण भागकोरुपमा रहेकाे थियो । यो प्रविधि प्रयोग गरेर रातमा घरकाे काम गरिन्थ्यो । टुकी बत्ती सामान्यतया फलामको हुन्छ । तामा, पित्तल, काँचकाे बाेतल अदिबाट पनि टुकी बनाउन सकिन्छ ।

यस प्रविधि प्रयाेग गर्न मट्टितेलको आवश्यकता पर्छ । यस प्रविधिमा तल पट्टी एक प्रकारको फलामको भाँडो हुन्छ । त्यसमा मट्टितेल राखिन्छ । माथिपट्टी सानो कपडाको   सलेदाे वा झुम्रो राख्ने प्वाल हुन्छ । प्वालको टुप्पोमा थोरै निस्केको  झुम्रो मट्टितेलले भिजेको हुन्छ । त्यसमा सलाई वा लाइटरले बत्ती सल्काइन्छ र बल्छ। यसबाट कालो धुवाँ निस्कन्छ । यो प्रविधि सरल र सजिलो हुन्छ । आआफ्नो ठाउँ र संस्कृति अनुसार टुकीको फरक फरक  बनावट र फरक फरक प्रयोग गर्ने तरिका रहेको हुन्छ । 

यसलाई हामीले विभिन्न विषयसँग जाेडर पनि अध्ययन गर्न सकिन्छ ।

सामाजिक अध्ययनमा टुकी बत्ती 

टुकी बत्तीको साइनो हाम्रो इतिहास वा  विगतसँग रहेको छ । बिजुली बत्ती नहुँदा रातको समयमा  उज्यालो वा प्रकाशको काम टुकी बत्तीबाट भएको रहेछ । रातको समयमा गरिने क्रियाकलापहरू खाना बनाउने र खाने देखी विभिन्न काममा उज्यालोका लागि यसको प्रयोग भएको पाइन्छ । 

मैले टुकीबत्तीका बारेमा मेरा छिमेकी आामालाई सोधेँ । उहाँले भनेअनुसार मट्टितेल नहुँदा वा सकिएको बेला टुकी बत्ती बाल्न नपाएर बिचैमा काम छोड्नु पर्थ्यो । बेलुकीका सबै काम साँझ नपर्दै उज्यालोमै सिद्ध्याउनु पर्थ्यो । उहाँले टुकी बत्तीको  लागि मट्टितेल किन्न  धेरै टाढा रहेकाे बजारसम्म पैदल हिँडेर गएका याद सुनाउनु भयो। टुकी बत्ती देख्ने वित्तिकै हाटबजारको झल्को आउँछ भन्नुभयाे। मट्टितेल आउनुभन्दा पहिले निगालाको च्याँठी, ठडेउलाे र दियाे  बत्तीको प्रयोग हुन्थ्यो रे । समयको विकास क्रमसँगै बजारमा  मट्टितेल पाउन थाले पछि टुकी बत्ती, चरी टुकी, पानस टुकी हुँदै  लालटिन, मैन टोलसम्म यसको विकास भएको पाइन्छ ।

भाषा विषयमा टुकी बत्ती

मैले टुकी बत्तीलाई भाषाका विषयहरू अनुसार पनि हेर्न प्रयास गरेको छु ।  

टुकी बत्ती नेपाली शब्द हो । यो एक नामवाचक शब्द हो । यसलाई धिप्री पनि भनिन्छ । टुकी बत्तीका विशेषताअनुसार चरी टुकी, पानस टुकी लगायतका आफ्नै नामहरू हुन्छन्। टुकी बत्तीको वास्तविक अङ्ग्रेजी नाम भेट्न सकिन तर पनि यसलाई Kerosene Lamp भन्न मिल्छ भन्ने लागेको छ । यस परियाेजना कार्यले हाम्राे शव्द भन्डार बढ्नुका साथै लेखन सिपकाे पनि विवकास हुन्छ ।

विज्ञान विषयमा टुकी बत्ती 

टुकी बत्तीको सम्बन्ध विज्ञान विषयसँग पनि रहेकाे छ । यो उपकरण ऊर्जा, प्रकाश र तापसँग सम्बन्धित देखिन्छ । मट्टितेल ऊर्जा हो । यसको प्रयोगबाट ताप र प्रकाश  निस्किन्छ । त्यसैले यो एक साधारण यन्त्र पनि हो । उज्यालो प्राप्तिको लागि मट्टितेल ऊर्जालाई झुम्रोकाे माध्यमबाट ताप र प्रकाशमा रूपान्तरण गरिएको हुन्छ । प्रकाशको प्रसारणको लागि टुकीको टुप्पोमा अलिकति झुम्रोको टुप्पा निकालिएको हुन्छ जसलाई बालेर प्रकाश निस्कन्छ र चारैतिर उज्यालाे हुन्छ । एक टुकी बत्तीले कति क्षेत्रफलसम्म प्रकाश प्रसारण गर्छ होला भन्ने कौतुहलता छ ।

स्वास्थ्य तथा वातावरण विषयमा टुकी बत्ती 

स्वास्थ्य तथा वातावरण विषयसँग पनि टुकी बत्तीकाे सम्बन्ध रहेको पाएको छु । टुकी बत्ती वातावरण तथा मानव स्वास्थ्यको लागि हानिकारक हुने रहेछ । टुकी बाट निस्कने धुवाँले फोक्सोमा असर गर्ने र श्वासप्रश्वास रोग लाग्ने सम्भावना धेरै हुने रहेछ । मानव स्वास्थ्य र वातावरण प्रतिकुल हुने भएकाले त्यस बेलाका मानिसहरूले बाध्यतामा यसको प्रयोग गरेका रहेछन् ।

गणित विषयमा टुकी बत्ती 

टुकी बत्तीको अध्ययन गणित विषयसँग पनि सम्बन्धित छ । टुकी बत्तीको माध्यमबाट क्षाेत्त्रफल  निकाल्न सकिन्छ । यसको तौल पनि निकाल्न सकिन्छ । ज्यामितीय आकारमा यो बेलनाकार छ। म यस परियोजनामा टुकी बत्तीको क्षेत्रफल निकाल्ने प्रयास गरेको छु । 

  • टुकीको बिर्को टुप्पो भागको व्यास र उचाइ मान पत्ता लगाउने छु । 
  • टुकीको बिर्को टुप्पो भागको व्यास 
  • टुकीको बिर्को टुप्पो भागको उचाइ
  • बिर्कोको ब्यास
  • बिर्कोको उचाइ 
  • टुकीको मुख्य भागको व्यास
  • समग्र टुकीको क्षेत्रफल

सिसाको बोतलबाट टुकी बनाउने सरल तरिका म यहाँ प्रस्तुत गर्न चाहन्छु । 

यो प्रविधिलाई  कुनै विपद्को अवस्थामा र बिजुली नआएका समयमा गर्न सकिन्छ । सिसाको बोतल, मट्टितेल, सलेदो र किलाको सहायताले हामी आफैँले टुकी बनाउन सक्छौँ । 

क. सबै भन्दा पहिले एउटा सिसाको बोतल लिने 

ख. त्यस बोतललाई राम्ररी सफा गर्ने 

ग. त्यस बोतलको बिर्कोमा सानो प्वाल बनाउने

घ. सुती कपडाकाे एक सलेदो (झुम्रो) बनाई बोतलको प्वालमा घुसाउने 

ङ. बोतलमा आधा जति मट्टितेल राख्ने 

च.  बोतलको झुम्रो सहितको बिर्कोलाई राम्ररी कस्ने 

छ. झुम्रो राम्ररी भिजेपछि सलाई वा लाइटरले बाल्ने 

ज. यस बत्तीलाई आफूभन्दा केही टाढा र साना बालबालिकाले नभेट्ने ठाउँमा राख्नु पर्छ ।

टुकी बत्ती पुरानो र लाेपन्मूख परम्परागत प्रविधि हो । यसको प्रयाेग हालका दिनमा नभए पनि यसलाई साजसज्जा, सङ्ग्रहालय, खोज अनुसन्धानका लागि टुकीकाे उपयोग गर्न सकिन्छ । सौर्य टुकी बत्ती वा गोबर ग्यास टुकी बत्ती वा अन्य टुकी बत्तीको परिकल्पना पनि यसैबाट विकास भएकाे देखिन्छ । यसले हामीलाई उद्यमशील बन्ने प्रेरणा पनि प्राप्त भएकाे  छ। यो परियोजना सर, म्याडम, साथीहरूको सहयोगमा निर्माण गरिएको हो । यहाँहरुले यसबारेमा थप जानकारी वा सुझाव दिई यस परियोजनालाई अझ राम्रो र परिकृत गर्न सहयोग गर्नु हुनसमेत अनुराेध गर्न चाहन्छु । 

सम्बन्धित पाेस्ट