सामान्यतया कोल भनेको गाउँघरमा लोप हुँदै गएको स्थानीय प्रविधि हो। कोल काठबाट बनाइएको औजार हो। गाउँमा तेल पिन्ने मिल नहुँदा मानिसहरूले आफ्नो जीवनयापन गर्नको लागि यसको प्रयोग गर्दथे। कोल गाउँका मानिसहरू समूहमा मिलेर बनाउने गर्दथे।
कोलबाट चिउरीको तेल, तोरीको तेल र उखुको रस पनि पिन्ने गरिन्थ्यो। कोलले गर्दा मानिसहरूको दैनिक जीवनको खानपानमा सहयोग गर्दथ्यो। काठबाट बनाइएको कोल गाउँका मानिसहरू मिलेर पालैपालो कोल चलाएर तेल पिन्ने गर्दथे। कोल चलाउँदा एक जना व्यक्तिले तेल थाप्ने र २/ ३ जना मानिसहरूले घुमाउने गर्दथे। कोल घुमाउँदा रिँगटा र थकाई लाग्नाले मानिसहरू पालैपालो फेरिएर घुमाउने गर्दथे।
तेल पिन्दा मानिसहरूको ओजनले नभ्याउँदा घुमाउने ठाउँमा ढुङ्गा झुन्डाइन्थ्यो। यो औजारले गर्दा मानिसहरूले तेल किनेर खानु पर्दैनथ्यो। कोलबाट पिनेको तेल अरू औजारहरूबाट पिनेको भन्दा शुद्ध हुन्थ्यो। तेल पिन्दा गाउँका मानिसहरू पालैपालो लाइनमा बसेर पिन्दथे। तेल पिनेर सकेपछि कोललाई फुकालेर एक ठाउँमा राख्ने गर्दथे।
अहिले सम्म पनि कतिपय गाउँमा बिद्युत् , तेल पेल्ने मिल नभएकाले यो औजारहरूको प्रयोग गरिन्छ । प्राय : ठाउँहरूमा आधुनिक प्रविधिको कारणले गर्दा कोल लोपोन्मुख भइरहेको छ।